Archive for November, 2011

विदेशी सहायता आवश्यक छ ?

Posted in analysis, Nepal Development Process, Nepal Foreign Affairs, Political and Social Corruption in Nepal on November 11, 2011 by DIVAS

By Divas

नेपालमा राणाकालको समाप्तिपछि औपचारिक विदेशी सहायता आउन थालेकोमा सन् ६० को मध्यसम्म आइपुग्दा सम्पुर्ण विकास गतिविधि पुर्ण रूपले विदेशी सहायतामा निर्भर रहेको पाइन्छ । शुरूमा अनुदानको रूपमा आउने गरेको विदेशी सहायता सन् ६० को दशकदेखि विस्तारै अनुदानभन्दा पनि ऋणको रूपमा आउन थाले । पहिलो पञ्चवर्षीय योजना(१९५६–६१) सम्पूर्ण रूपले विदेशी सहायताबाट सञ्चालित थियो भने दशौं पञ्चवर्षीय योजना(२००२–०७) को ६० दशमलव ७ प्रतिशत विदेशी सहायताबाट सञ्चालित थियो । वर्तमान २०६८/६९ बजेटले पनि रु. ७० अर्ब १३ करोडको वैदेशिक अनुदान र रु. २९ अर्ब ६५ करोडको वैदेशिक ऋण अपेक्षा गरेबाट नेपालको वैदेशिक सहायतामाथिको निर्भरता छर्लङ्ग हुन्छ ।

वैदेशिक सहायताले खासगरी निश्चित कार्ययोजना बनाएर सञ्चालन गरिएका सडकजस्ता पुर्वाधार क्षेत्रमा केही महत्वपुर्ण विकास भएका पनि छन् । तर, चर्चा र वाचाको तुलनामा निकै कम मात्र सहायता लक्षित समूहसम्म पुग्ने गरेको तथ्य प्रति पनि मनन गर्नु आवश्यक छ । किनभने, आधा शताब्दीसम्मको वैदेशिक सहायता पछि अझै पनि ग्रामीण भेगका अधिकांश बालबालिका उचित शिक्षाको अवसरबाट बञ्चित छन् । त्यसैगरी, प्रत्येक वर्ष कुपोषण, न्युनपोषण, झाडापखाला जस्ता सामान्य रोग तथा प्रसूति, मातृशिशु स्वास्थ्य जस्ता आधारभूत स्वास्थ्य सेवा अभावले सयौं व्यक्ति, महिला र बालबालिकाको मृत्यु भइरहेकै छ ।

उदारहणको लागि, नेपाल दक्षिण एशियाकै सबैभन्दा गरीब देश हुनुको साथै २०१० को विश्वव्यापी भोक सूचि अर्थात् ग्लोबल हङ्गर इण्डेक्समा सबैभन्दा खराबमध्ये एक अर्थात् २९ औं स्थानमा आउँछ, जुन खडेरी र युद्धग्रस्त अफ्रिकी मुलुक तान्जानीया र केन्याको हाराहारी हो । जबकि, सहायताको रूपमा भित्रिएको वैदेशिक ऋण मात्रै २००९ सम्ममा ४ अर्ब ५० करोड डलर पुगिसकेको अनुमान छ । त्यसैले वैदेशिक सहायताको नीयत, पारदर्शिता, र प्रभावकारितामाथि जनस्तरबाटै प्रश्नचिन्ह उठनुलाई स्वभाविक नै मान्नुपर्छ ।

विश्व सन्दर्भमा हेर्ने हो भने पनि दाताहरूको दावी विपरित भ्रष्ट र उत्तरदायित्व विहीन मानिएका सरकारहरूले नै ठुलो मात्रामा विशुद्ध रणनीति प्रेरित वैदेशिक सहायता पाएका छन् । नेपाल हालको अस्थिर, सङ्कटपुर्ण र नीतिगत भ्रष्टाचारले आक्रान्त अवस्थामा पुग्नुका पछडि रणनीतिक स्वार्थ केन्द्रित वैदेशिक सहायताको पनि ठुलो भुमिका रहेको भन्नेहरुपनी धेरै छन ।  । वास्तवमा, नेपालको वैदेशिक सहायता उद्योगले देशको ऋण भार, धान्न नसकिने महत्वाकांक्षा, परनिर्भरता र सामाजिक असमानतालाई मलजल गरिरहेको छर्लङ्ग देखिन्छ ।

सारांशमा, संसार र खासगरी तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी देशहरूको समृद्धि चुहिएर घिसारिएरै भए पनि नेपालमा केही विकास भइनैरहनेछ, तर त्यस्तो विकासलाई वैदेशिक सहायताले थेगेको भन्ने भ्रमबाट निष्कनुमै कल्याण हुनेछ । सरकार, दलहरू, विशेषज्ञ तथा नागरिक संस्थाहरूले वैदेशिक सहायताबाट उत्पन्न वौद्धिक आत्मसमर्पण, नीतिगत भ्रष्टाचार, सामाजिक असमानता र मगन्ते संस्कृतिको दुष्चक्रलाई तोडने आँट गर्नैपर्छ । देशभित्र र बाहिरका उद्यमशीलता, पुँजी, लगानी र स्रोतलाई निर्बाध रूपले चलायमान हुनसक्ने वातावरण वनाएर वैदेशिक सहायता केन्द्रित भन्दा पनि नीजी क्षेत्रको अग्रसरतामा व्यापार, व्यवसाय, कृषि र उद्यम केन्द्रित आर्थिक नीति अवलम्बन गरिनुपर्छ ।

Published in Abhiyan Daily with some modifications & Tables

Follow

Get every new post delivered to your Inbox.

Join 76 other followers

%d bloggers like this: